ड्राइभिङ लाइसेन्सको छपाइ नहुँदा लाखौँ सवारी चालकहरू मर्कामा
सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको छपाइ नहुँदा लाखौँ सवारी चालकहरू मर्कामा परेका छन । तीन महिनादेखि छपाइ रोकिदा लाखौं सवारी चालकले लाइसेन्स पाउन नसकेका हुन । विद्युतीय चिप्ससहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् । हाल देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गरेपनि उनीहरुले लाइसेन्स पाउन सकेका छैनन । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । अहिले वैदेशिक रोजगारी र अध्ययनमा जानेलाई मात्रै विभागले कार्ड उपलब्ध गराउदै आएको छ । जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता गरेको छ । भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले जर्मन कम्पनीको कार्ड यो प्रणालीमा छपाइका लागि फिट हुने गरी पर्सनलाइजेसन गर्न समय लगाउदा मारमा सवारी चालक परेका छन ।
प्रतिक्रिया