हेलिकोप्टर दुर्घटनामा परेका पाइलट सेढाईंको निधन

गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा  निधन भएको छ । उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो ।  दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा थप उपचारका लागि मुम्बई लगिएको थियो । उपचारकै क्रममा उनको हिजो नेसनल बर्न सेन्टर, मुम्बईमा निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ । सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको  कारण उनको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि त्यसले असर गरेपछि उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । 

प्रतिक्रिया