हमासले गर्यो थप दुई जना बन्धक रिहा

प्यालेस्टाइनको विद्रोही लडाकु समूह हमासले थप दुई जना बन्धकलाई रिहा गरेको छ । हमासले इजिप्ट र कतारको मध्यस्थतामा नुरिट कुपर र योचेभ लिफसिट्ज नाम गरेका दुई जना व्यक्तिको रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसै महिनाको ७ तारिखमा हमासले अप्रत्यासित रुपमा इजरायलमा आक्रमण गर्दै दुई सय २० जनाभन्दा धेरैलाई अपहरण गरेको थियो । यसअघि दुई जना रिहा भएकोमा हिजो थप दुई जना रिहा भएका हुन् । कतारले आफ्नो मध्यस्थतामा थप ५० जना बन्धक रिहा गर्न हमास तयार भएको उल्लेख गरेको छ । तर हमासले युद्धविराम र गाजामा थप सहायता पठाउने ग्यारेन्टी भएमा मात्रै थप बन्धकहरूलाई रिहा गर्ने अडान लिएको छ । तर इजरायलले भने गाजा ध्वस्त पारिने त्यसको लागि हतियारले सुसज्जित सेना तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलले गाजाको ५० प्रतिशत क्षेत्र ध्वस्त बनाइसकेको छ । हमासको आक्रमणबाट इजरायलमा १४ सय जनाको ज्यान गएको छ भने इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा ५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन् । हिजो एकैदिन इजरायलको आक्रमणबाट गाजामा ४ सय ३६ जनाको ज्यान गएको  खबरमा उल्लेख छ ।
 

प्रतिक्रिया