थप सय मेगावाट बिजुली भारत निर्यात गर्ने प्राधिकरणको तयारी
नेपाल विद्युत प्राधिकरणले थप १ सय मेगावाट बिजुली भारत निर्यात गर्ने तयारी गरेको छ । प्राधिकरणले थप १ सय मेगावाट विद्युत् निर्यातको स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव पठाएको हो ।भारतबाट स्वीकृत भएर आउने बित्तिकै थप बिजुली निर्यात हुने प्राधिकरणको भनाइ छ । चाडपर्वका बेला कलकारखाना बन्द हुने र काठमाडौँमा चिसो भई नसकेको अवस्थामा बाँकी विद्युत् निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ । भारतबाट थप विद्युत् निर्यातको स्वीकृति नपाउने हो भने विद्युत गृहहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले २०८० जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारत बेचेको जनाएको छ ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०–०८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाखरुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया