वायुसेवा निगमले तीनवटा जहाज खरिदका लागि बोलपत्र आह्वान
नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ ‘आईसीबी’मार्फत निगमले जहाज खरिद गर्न लागेको हो । निगमले सर्ट टेकअफ एन्ड ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो । निगमले आज सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो । प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्ममा दर्ता गर्नुपर्नेछ । यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका दुर्गम जिल्लाहरूमा हवाई सेवाको विस्तार गर्न र निजी कम्पनीहरूलाई मनपरी भाडा लिन रोक्न नेपाल एयरलाइन्सले विमान खरिद गर्नुको विकल्प नभएको बताएका थिए । यसै वर्ष विमान खरिद गरी दुर्गम जिल्लाहरूमा सेवा विस्तार गर्ने जनाएको छ । हाल नेपाल एयरलाइन्सले दुई वटा ट्वीनटर विमानबाट सेवा दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया