नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा
नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा जापानलाई डकवर्थ लुईस नियमका आधारमा १ सय ४३ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । फाइनल पुगेसँगै नेपाल यू–१९ एसिया कपमा पनि छनोट भएको छ । सुरुआती ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाउँदै १ सय ४० रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो । त्यसपछि १ सय ८७ रनको लक्ष्य प्राप्त गरेको जापान ११ दशमलव ५ ओभरमा ४३ रन बनाउँदै अलआउट भयो । जापानका लागि शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले समान ३–३, सुवास भण्डारीले २ तथा आकाश चन्दले १ विकेट लिए । नेपालका लागि ओपनर दिपक बोहराले ७९, आकाश त्रिपाठीले अविजित ३५, अर्जुन कुमालले १० र कप्तान देव खनालले अविजित ८ रन बनाए । जापानका कजुमा काटो स्टेफोर्ड र किफर यामामोटोले समान एक विकेट हात पारे ।
प्रतिक्रिया