हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा

नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रनमा समेटियो । हङकङका अंसी रथले सर्वाधिक ४५, बाबर हायातले २० तथा अजिज खानले २५ रन बनाए । नेपालका लागि करन केसी, सोमपाल कामी, ललित राजवंशीले समान २–२ तथा प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ९२ र दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । आसिफ शेखले २० तथा रोहित पौडेलले ११ रन बनाए । हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान २–२ तथा आयुश शुक्ला र अजाज खानले समान १–१ विकेट झारे । जितसँगै तीन खेलबाट ६ अंक जोडेको नेपाल फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले सोमबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।।
 

प्रतिक्रिया