एनआरएनएको ११ औँ महाधिवेशन प्रक्रिया स्थगित
काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन प्रक्रिया स्थगित भएको छ । महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि बाँकी प्रक्रिया स्थगित भएको हो । चुनावी परिणामलाई लिएर विवाद भएपछि एनआरएनएका वर्तमान अध्यक्षहरु कूल आचार्य, रविना थापा र बद्री केसीले निर्वाचन प्रक्रिया थप अघि नबढाउन सर्कुलर जारी गरेका हुन् । निर्वाचन कमिटीले बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम घोषणा गर्दै डा. बद्री केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गरेपछि विवाद भएको हो । उनीहरुले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिएका थिए । उनीहरुले विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको आरोप लगाएका छन् ।
भेरो भोटिङ अनलाइन कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको भन्दै साइबर क्राइममा उजुरी समेत परेको छ । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका थिए । डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया