सरकारी कार्यालय बन्द भएसँगै नाकामा यात्रुको चाप

विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको संख्या बढेको छ । आज विहानैदेखि काठमाडौंका कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा सर्वसाधारणको घुइँचो रहेको छ । केही नाकामा सवारी जामको समस्या समेत देखिएको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका हुन । आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो बढेको ट्राफिक प्रहरीले जनाएको छ । गाडी रिजर्भ गरेर जानेहरुको संख्या पनि उत्तिकै धेरै छ । टिकट नपाउने, टिकट पाए पनि तोकिएको सिट नपाउने जस्ता समस्या भोग्नु परेको घर फर्किने यात्रुको भनाइ छ । ट्राफिक प्रहरीका अनुसार हिजो एकैदिन काठमाण्डौ उपत्यकाबाट एक लाखभन्दा धेरै बाहिरिएका छन्  । हिजो एक लाख १२ हजार ४ सय १६ जना बाहिरिएका छन् । आज यो संख्या दोब्बर हुने अनुमान छ । यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान छ । दशैं मनाउन करिव १६ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान छ । 
 

प्रतिक्रिया