किनमेल गर्ने चहलपल बढे पनि दशैंमा व्यापार बढ्न सकेन
दसैँमा अन्य समयको तुलनामा हरेक सामानको व्यापार दोब्बर तेब्बर हुने गरेकोमा यस पटक भने न्यून रहेको छ । किनमेल गर्नेको चहलपल बढे पनि व्यापार बढ्न नसकेको व्यवसायीको भनाइ छ । मुख्य मुख्य व्यापारिक केन्द्रमा दसैँको चहलपहल क्रमिक रूपमा बढ्न थालेको छ । बजारमा मूल्य बढेका कारण र उपभोक्तामा पर्याप्त रकम नहुँदा दैनिक उपभोग्य वस्तुका रूपमा रहेको खाद्यान्नको व्यापार बढे पनि अन्य सामानको कारोबार भने बढ्न सकेको छैन। अन्य समयको भन्दा दसैँको समयमा बजारमा चहलपहल बढ्नुपर्ने हो तर आर्थिक मन्दीले दसैँ बजार प्रभावित बनेको छ। उपभोक्ताको क्रयशक्ति न्यून हुनु, उच्च ब्याजदरका कारणले गर्दा पनि व्यापार फस्टाउन सकेको छैन। जुत्ताचप्पलको व्यापारमा ५० प्रतिशत कमी आएको व्यापारीको भनाइ छ । अवैध रूपमा बाहिरी मुलुकबाट कपडा आयात हुँदा स्वदेशी उत्पादन महँगो भई बिक्री हुन नसकेको कपडा उद्योग संघले जनाएको छ । भन्सार छलेर ल्याएका सामान सस्तो मूल्यमा बिक्री भइरहेको र नेपाली उत्पादनको लागत महँगो हुँदा प्रतिस्पर्धा गर्न नसक्दा व्यापार ठप्प अवस्थामा रहेको बताइन्छ । बजारमा माग कम हुँदा नेपाली कपडाको व्यापारमा ८० प्रतिशत गिरावट आएको छ। अन्य व्यापार व्यवसाय सुस्ताए पनि सवारीसाधन खरिद बुकिङ भने बढेको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्रले ठप्प भएको व्यवसायमा यस पटक सुधार देखिएको छरु। अघिल्लो वर्षको दसैँसँग तुलना गर्दा यस पटक सवारीसाधन खरिदका लागि बुकिङ बढेको छ। बैंकले पनि केही सहज बनाइदिएकाले पछिल्लो समय विद्युतीय सवारीमा आकर्षण बढेको र गत भदौमा भएको नाडा अटो सोले यो क्षेत्रको व्यवसायमा सुधार आएको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया