नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले प्रस्तुत गरेको ३ सय ४८ रनको लक्ष्य पछ्याएको साउदी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । साउदीका लागि वरुण सरवनन मुदलियारले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दिपेश कँडेलले ६ विकेट, आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४८ रन बनाएको थियो । नेपालको जितमा अर्जुन कुमालले १ सय ४२ रनको शतकीय इनिङ्स खेले । त्यस्तै, आकाश त्रिपाठीले ८९, ओपनर दिपक बोहराले २९, बिशाल बिक्रम केसीले अविजित २४, दिपक प्रसाद डुम्रे र दिपेश कँडेलले समान १४ रन बनाए । साउदीका मुहमद अमद राजा र मुहमद अहमदले समान २–२ तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान १–१ विकेट लिए । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा शीर्ष तीन टिमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया