तीन महिनामा साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनदेखि असोज मसान्तसम्मको अवधिमा नौ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको बिजुली भारत निर्यात गरेको हो ।  प्राधिकरणले असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ३३ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रूपैयाँको बिजुली भारत निर्यात गरेको छ । यद्यपि प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रूपैयाँको विद्युत् भारत निर्यात गरेको जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा रहेको छ ।  निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ । 

प्रतिक्रिया