पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन

किमाथाङ्का । सुख्खा पहिरो खसेर अवरुद्ध  जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सञ्चालनमा आएको छ । 

कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण गत सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए । उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुङ्गासहित सुख्खा पहिरो खसेको थियो । 

यस सडक खण्डमा सुख्खा पहिरोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्म हिउँदमा मात्रै गाडी चल्ने गरेको छ । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । 

यो सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो । सो सडकले कोशी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुने छन् । 

राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्का सडक आयोजनामा हालसम्म रु ५३ करोड बढी खर्च भइसकेको छ । रासस

प्रतिक्रिया