महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौं ।  महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए ।

प्रतिक्रिया