खुद्रा व्यापार संघको समन्वयमा विभिन्न ठाउँमा चिनी बिक्री वितरण
नेपाल खुद्रा व्यापार संघले समन्वय गरेर राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री थालेको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि संघले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो । वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधबार बिहान काठमाडौँ आइपुगेको तीन सय बोरा क्विन्टल चिनी नक्साल, ज्ञानेश्वर, लाजिम्पाट, महाराजगन्ज चक्रपथ, बुढानीलकण्ठ, सोह्रखुट्टेदेखि बालाजु बाइपाससम्म, ज्याठाचोक, ठैँटी, क्षेत्रपाटी, स्वयम्भू, ताहाचल, भक्तपुर, पाटनलगायतका ठाउँमा पु¥याएर प्रतिउपभोक्ता दुई केजीका दरले बिक्री गरिएको छ । तत्काल उपभोक्ताको समस्या टार्ने उद्देश्यले सरकारको समन्वयमा शून्य प्रतिशत नाफा लिएर सङ्घले नितान्त सेवाको भावले चिनी बिक्रीको व्यवस्था गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घको समन्वयमा उद्योगीबाट सिधै उपभोक्तासम्म चिनी बिक्री गर्ने व्यवस्था गरेको जनाइएको छ । उद्योगीले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी कम्पनीलाई बिक्री गरिसकेको उच्च गुणस्तरको एक हजार टन चिनी खरिद गरेर खुद्रा व्यापार संघको समन्वयमा बुधबारबाट बिक्री गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
प्रतिक्रिया