घटस्थापनायता करिब पाँच लाखले राजधानी छाडे
दसैंका मुख्य दिन नजिकिएसँगै राजधानीबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । घटस्थापनायता करिब पाँच लाखले राजधानी छाडिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । घटस्थापनादेखि आज बिहानसम्म उपत्यकाका विभिन्न नाकाबाट करिब पाँच लाख यात्रु बाहिरिएका हुन् । बुधबार दिनभर करिब डेढ लाख यात्रुले उपत्यका छाडेको अनुमान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको छ । काठमाडौंका चार नाका हुँदै काठमाडौं बाहिरिनेको केही दिनदेखि घुइँचो रहेको छ । सरकारी बिदा सुरु भएपछि फूलपाती र अष्टमीका दिन सबैभन्दा बढी मानिस राजधानीबाट बाहिरिनेछन । यो पटक करिव १६ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान छ । दसैं सुरु भएसँगै रोजगारीलगायत विभिन्न कामको सिलसिलामा भारतमा रहेकाहरुपनि सीमावर्ति नाका हुँदै घर फर्कन थालेका छन । नाकामा आवागमन सहज बनाउन सीमावर्ती जिल्लाका प्रशासनले सुरक्षा व्यवस्था मिलाउनुका साथै नागरिक सहायता कक्ष स्थापना गरेका छन् । यो बेला भारतसँग सीमा जोडिएका गड्डाचौकी, गौरीफन्टा, जमुनाह नाकामा घर फर्कनेहरुको भीड रहेको हाम्रा खबरदाताहरुले बताएका छन । भारतसँग सीमा जोडिएका पश्चिम नेपालका दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर–गौरीफन्टा र बााकेको जमुनाह नाकाबाट दसैं मनाउन र्फकने क्रम सुरु भइसकेको छ ।।
प्रतिक्रिया