इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने इजरायलको घोषणा

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने इजरायलले जनाएको हो । गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइने उसको भनाइ छ।  अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ पछि अमेरिकाले गल्ती गरेको सन्दर्भ प्रस्तुत गर्दै इजरायललाई अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणपछि क्रोधमा नआउन सुझाव दिएका हुन् ।उनले अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायललाई दिँदै आएको समर्थन थप सशक्त पार्ने प्रस्ताव गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने लक्ष्यमा आफ्नो प्रतिबद्धता पनि दोहो¥याएका छन् । यसैविच इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकाले हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । हमासले गत अक्टोबर ७ मा इजरायलमा एक्कासी आक्रमण गर्दा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । इजरायलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब तीन हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 
 

प्रतिक्रिया