चाडवाडमा बिना अबरोध विद्युत् आपूर्तिको प्रबन्ध गर्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं तिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख सुरेशब हादुर भट्टराईलगायत काठमाडौं उपत्यका भित्रका वितरण केन्द्र प्रमुखहरूलाई मन्त्री बस्नेतले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहज रुपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन । चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बिजुली खेर नजाने वातावरण बनाउन समेत मन्त्री बस्नेतले निर्देशन दिएका छन् । मन्त्री बस्नेतले प्राधिकरणका ’नो लाइट सेन्टर’लाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने बित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमा नै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गरेका थिए । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई आग्रह गरेका छन ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौं उपत्यका र शहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए । चाडपर्वको समयमा उद्योग प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले बिजुलीको माग कम हुने भएकाले केही बिजुली खेर जाने अवस्था रहेको उनको भनाइ थियो । प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया