मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने प्रधानमन्त्री दाहालको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने घोषणा गरेका छन् । आज मुस्ताङ जिल्लाको जोमसोममा आयोजित कार्यक्रममा कार्यक्रममा उनले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन । मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रदेशसभा सदस्य विकल शेरचनले वातावरण अनुकूल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरितगृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री दाहाल समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका थिए । जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्या बढिरहेको स्थानीयको भनाइ थियो । प्रधानमन्त्रीले बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको अवलोकन गरेका थिए ।
प्रतिक्रिया