एलपी ग्यासको आयात बढ्यो

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना साउनदेखि माघसम्म ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ ।

 सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।  गत वर्ष सो अवधिमा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपियाँ बराबरको दुई लाख ९८ हजार ९७५ मेट्रिक टन आयात भएको थियो । गत वर्षको तुलनामा पाँच अर्ब रुपियाँ बराबरको १६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको तथ्यांकले देखाएको छ ।

 बजारमा खपत बढेसँगै ग्यासको आयातमा वृद्धि भएको हो ।  चिसो मौसममा बजारमा ग्यासको खपत धेरै हुँदा आयातमा समेत वृद्धि भएको आयाल निगमले जनाएको छ । पछिल्लो समय गाउँ गाउँमा समेत ग्यासको प्रयोग हुन थालेपछि खपत बढ्दै गएको छ । 

मुलुकभर ४४ प्रतिशत घरधुरीमा ग्यासको प्रयोग हुने गर्छ । नेपाल आयल निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ ।

 गत आव २०८०/८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँ बराबरको पाँच लाख २४ हजार २०४ मेट्रिक टन ग्यास आयात भएको थियो । ५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गर्ने गरेका छन् । बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ । 

प्रतिक्रिया