नेपालको प्रतिष्ठा बढाउने काम गर्न एनआरएनएलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासिय नेपालीहरुलाई आग्रह गरेका छन । गैर आवासिय नेपाली संघको ११ औँ विश्व सम्मेलन उद्घाटन गर्दै उनले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तिब्र आर्थिक विकास गर्न सके मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने बताएका हुन् । राष्ट्रपति पौडेलले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैर आवासिय नेपालीहरुको रणनीतिक भुमिका र दायित्व हुने बताए ।
राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्ने बताए । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि थप लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीमा रहेका नीतिगत र कानुनी जटिलता हटाएर रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आग्रह गरे । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, कार्यकारी अध्यक्ष डा. बद्री केसी, गैरआवासीय नेपाली संघ आइसिसीका अध्यक्ष रविना थापा र एनआरएनएका अध्यक्ष कुल आचार्य लगायतले मताधिकारको सुनिश्चितताको माग समेत गरे । जारी सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । 

प्रतिक्रिया