पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा दक्षिणी थाइल्यान्डको नरसंहारमा माफी

एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आइतबार देशको दक्षिणी भागमा दुई दशकअघि सैनिक ट्रकहरूमा कोचिएर धेरै मुस्लिम प्रदर्शनकारीको मृत्यु भएकामा आइतबार माफी मागेका छन् । 

‘ताक बाई नरसंहार’ का रूपमा चिनिने यो घटनामा उनले सार्वजनिक रूपमा पहिलो पटक माफी मागेको मानिएको छ । यो माफी हद म्याद सकिएको र सात जना शङ्कास्पद व्यक्ति विरुद्धको हत्या मुद्दा खारेज भएको लगभग चार महिनापछि आएको हो ।

यो नरसंहार लामो समयदेखि थाइल्यान्डको मुस्लिम बहुल दक्षिणी प्रान्तहरूमा राज्यको दण्डहीनताको प्रतीकका रूपमा रहँदै आएको छ । ती प्रान्तमा बौद्ध बहुल देशबाट सांस्कृतिक र धार्मिक रूपमा भिन्न क्षेत्रका लागि अधिक स्वायत्तता खोज्ने सरकारी सेना र पृथकतावादीहरू बीच वर्षौंदेखि विद्रोह जारी छ ।

नरसंहारको समयमा प्रधानमन्त्री रहेका थाक्सिनले आइतबार आफूले मानिसहरूलाई ‘असहज महसुस गराउने’ कुनै पनि कार्यका लागि माफी माग्न चाहेको बताए ।

“म प्रधानमन्त्री हुँदा स्थानीय जनताको हेरचाह गर्ने मेरो दृढ इच्छा थियो”, उनले नरसंहारको बारेमा सोधिएको प्रश्नको जवाफमा भने, “यदि मबाट कुनै गल्ती भएको छ वा कुनै असन्तुष्टि उत्पन्न भएको छ भने, म माफी माग्न चाहन्छु ।”

थाई अधिकार समूह दुआय जाईकी सह–संस्थापक अन्चना हिम्मिनाका अनुसार थाक्सिनले पहिलो पटक माफी मागेको हो । “यदि उहाँ (माफीको बारेमा) इमान्दार हुनुहुन्छ भने उहाँले पीडित परिवारहरूसँग, आमनेसामने माफी माग्नुपर्छ”, उनले भने ।

सन् २००४ अक्टोबर २५ मा सुरक्षा बलहरूले मलेसियाली सीमा नजिकै नाराथिवात प्रान्तको ताक बाई सहरमा एक प्रहरी चौकी बाहिर प्रदर्शन गरिरहेको भीडमाथि गोली चलाउँदा सात जनाको मृत्यु भएको थियो ।

त्यसपछि ७८ जना पक्राउ परेपछि र थाई सैन्य ट्रकको पछाडि अनुहार तल पारेर र हात पछाडि बाँधेर एक अर्काको माथि कोचिएपछि उनीहरूको मृत्यु भएको थियो ।

गत वर्षको अगस्टमा प्रान्तीय अदालतले सन् २०२३ मा सिनावात्राको फेउ थाई पार्टीका लागि संसद्मा निर्वाचित पूर्व सेना कमान्डरसहित सात अधिकारी विरुद्ध पीडित परिवारहरूले दायर गरेको आपराधिक मुद्दा स्वीकार गरेको थियो ।

तर अधिकारीहरूले अदालतमा उपस्थित हुन बेवास्ता गरे, मुद्दालाई अगाडि बढ्नबाट रोके र अक्टोबरमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा (थाक्सिनकी छोरी) ले हद म्याद बढाउन सम्भव नभएको बताए ।

यो मुद्दा आपत्कालीन कानूनद्वारा शासित र सेना र प्रहरी एकाइहरूले भरिएको क्षेत्रमा जवाफदेहिताको अभावको पर्यायवाची बनेको छ । वर्षौँदेखि यस क्षेत्रभरि दुर्व्यवहारको आरोप लागेको हुँदाहुँदै पनि थाई सुरक्षा बलका कुनै पनि सदस्यलाई ‘डिप साउथ’ मा गैरन्यायिक हत्या वा यातनाको आरोपमा जेलमा राखिएको छैन । जनवरी २००४ देखि यो द्वन्द्वमा सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । रासस

प्रतिक्रिया