परराष्ट्रमन्त्री डा. देउवा जेनेभा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छिन् । 

देउवालाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा. देउवाले यही १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा देउवाले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री देउवाको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन् । 
उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 

प्रतिक्रिया