केआइआइटी घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् ओडिसाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् । 

परराष्ट्रमन्त्रीले उनीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि उनले आग्रह गरेकी थिइन् ।

यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिनु भएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह गरिन् ।  

मुख्यमन्त्री माझीले घटनालाई ओडिसा राज्यले नै गम्भीर रूपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम शुरु गरिएको जानकारी गराएका थिए ।

साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका थिए ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र ओडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् ।

प्रतिक्रिया