अमेरिकाको एफबीआई निर्देशकमा काश पटेल निर्वाचित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा निर्वाचित गरेको छ ।

पटेलको मनोनयनपछि डेमोक्र्याटिक्स पार्टीको चर्को विरोध भएपनि अन्ततः यो विरोध निरर्थक बनेको छ । उहाँलाई सिनेटले ५१–४९ मतले अनुमोदन गरेको छ । 

दुई रिपब्लिकन सिनेटर सुसन कोलिन्स र लिसा मुर्कोवस्कीबाहेक अन्य दुई रिपब्लिकन सिनेटरबाहेक सिनेटमा मतदान हुँदा दलगत आधारमा मत विभाजन भएको थियो । पटेल ३८ हजार सदस्यीय सङ्घीय अनुसन्धान विभागको प्रमुखका रूपमा निर्वाचित भएका हुन् । 

पटेलले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् (क्यापिटोल) मा आक्रमण गर्ने ट्रम्प समर्थक दङ्गाकारीहरूको बचाउ र रिपब्लिकन राष्ट्रपतिको विरोध गर्ने कथित ‘डिप स्टेट’ का सदस्यहरूलाई जरैदेखि उखेलेर फ्याँक्ने आफ्नो प्रतिज्ञाको लागि डेमोक्र्याट्सहरूबाट आलोचना खेप्नुपरेको थियो ।  

डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले सिनेटमा पटेलको मनोनयनको विरोध गर्दै निर्वाचनपूर्व संसदमा भएको बहसमा भने, “पटेल खतरनाक र राजनीतिक रूपमा ‘अतिवादी’ सोच राख्नुहुन्छ र उहाँले आफ्ना राजनीतिक शत्रुहरूविरुद्ध प्रतिकार गर्न हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण कानून प्रवर्तन एजेन्सी प्रयोग गर्ने आफ्नो इच्छा बारम्बार व्यक्त गरेका छन् ।” 

सिनेटले ट्रम्पको क्याबिनेटका सबै निर्णयलाई अनुमोदन गरेको छ । यसले रिपब्लिकन पार्टीमा ट्रम्पको पकडलाई स्पष्ट पारेको छ । पटेलले एफबिआईको निर्देशक बन्न पाएकोमा आफू गौरवान्वित भएको बताएका छन् । 

“अमेरिकी जनता पारदर्शी, जवाफदेही र न्यायप्रति प्रतिबद्ध एफबीआईको हकदार छन्,” उनले भने, “हाम्रो न्याय प्रणालीको राजनीतिकरणले जनताको विश्वासलाई कमजोर बनाएको थियो तर त्यो आज समाप्त भएको छ ।”

“राम्रो प्रहरीलाई थप जिम्मेवारी दिने र एफबीआईप्रतिका विश्वास पुनः निर्माण गर्ने निर्देशकको रूपमा मेरो अभियान हुनेछ । उनले भने, “अमेरिकीलाई हानि पुर्‍याउन खोज्नेहरुलाई यो चेतावनी मान्नुहोस् । हामी तिमीहरूलाई पृथ्वीको हरेक कुनामा गएर प्रतिकार गर्नेछौँ ।

प्रतिक्रिया