सरकारले आजदेखि सहुलियतमा खसीबोका बिक्री गर्दै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले बिहान ८ बजेदेखि प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री थालेको हो । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो । आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ । बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ । खसीबोकाको बिक्री कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री हुने छ । जिउँदो खसी प्रतिकेजी ६८० रुपियाँ निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६७० रुपियाँमा बिक्री खुला गरिएको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले दसैँलाई दुई हजारको सङ्ख्यामा खसीबोका र एक हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्दै छ । खसीबोका खरिद गर्न आठ करोड ३६ लाख रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ ।निजी क्षेत्रका व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । व्यवसायीले प्रतिकेजी ६ सय ७० देखि ६ सय ८० रुपियाँ रहेको छ । व्यवसायीले विभिन्न जिल्लामा खरिद गरी उपत्यकामा ल्याएर बिक्री गरिरहेका छन् । यो वर्ष दसैँमा उपत्यकामा ४५ देखि ५० हजारको सङ्ख्यामा खसीबोका बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् ।
प्रतिक्रिया