गैर आवासीय नेपालीलाई आजवाट नागरिकता दिन सुरु
प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरु नेपालका गैरआवासीय दुत भएको बताएका छन । आज बालुवाटारमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण शुभारम्भ गर्दै उनले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको भन्दै खुसी प्रकट गरेका हुन । प्रधानमन्त्री दाहालले गैर आवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरुलार्ई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताए ।
प्रधानमन्त्री दाहालले विदेशी लगानीको न्युनतम सीमा दुई करोडमा सीमित गरेको, धितोपत्रको दोस्रो बजारमा लगानी खुला गरेको र वैदेशिक रोजगारमा रहेकालाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको स्मरण गरे । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै नभइ मुटुको अंश भएको बताए ।
संघका कार्यकारी अध्यक्ष बद्री केसीले नागरिकता एउटा अभिभारा पनि भएको भन्दै अब मुखले मात्र नभइ कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष कुल आचार्यले कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीयलाई मात्रै नभइ उनीहरुका सन्तानलाई पनि नेपालसँग जोडिरहने विश्वास प्रकट गरे ।
अध्यक्ष आचार्यले गैरआवासीय नेपालीसँग रहेको श्रोत, साधन र सम्पतीको उपयोग गरेर मातृभूमिको सेवा गर्ने मौका अब आएको बताए । प्रधानमन्त्री दाहालले संघका अध्यक्ष आचार्य र केसीलाई नागरिकता प्रदान गरेर नागरिकता वितरण कार्यको शुभारम्भ गरेका हुन् । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।
प्रतिक्रिया