विदेशी खेलाडीसहित राष्ट्रिय पुरुष रग्बी सेभेन्स हुँदै
काठमाडौं । गोर्खाली सेभन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी फागुनको तेस्रो सातामा चितवनको भरतपुरमा हुने भएको छ ।
गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघका प्राविधिक सहयोगमा आगामी फागुन १६ र १७ गते चितवनमा गोर्खाली रग्बी सेभेन्स ट्रफी हुन लागेको हो । यस प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफसहित पाँच प्रदेशका साथै आयोजक गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक गोर्खाली रग्बी क्लबले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दियो । २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यसपल्ट आफै व्यवस्थित रूपले प्रतियोगिता सञ्चालन गर्न लागेको गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीले जानकारी दिए ।
एक विभागीय टोली नेपाल पुलिस क्लब भने आन्तरिक कारणले सहभागी नभएको आयोजक गोर्खाली क्लबका सचिव प्रेमबहादुर कोइरालाले जानकारी दिए । भरतपुरस्थित कृष्णपुर रङ्गशालामा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् ।
कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गरी यो प्रतियोगिता सञ्चालन गरिएको नेपाली राष्ट्रिय पुरुष रग्बी टोलीका पूर्व कप्तान तथा क्लबका उपाध्यक्ष कृष्ण थापा क्षेत्रीले जानकारी दिए । सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको छ ।
अहिलेसम्म आयोजक गोर्खाली रग्बी क्लबले तीन जना विदेशी खेलाडी समावेश गर्ने तय भइसकेको छ । विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भर्दना काउचरबाट एक सेट इटालियन सुट पाउने आयोजकले उल्लेख गरेको छ ।
खेल सञ्चालन गर्नका लागि विदेशी रेफ्रीलाई भित्राउने तयारी पनि भइरहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । दोस्रो संस्करणदेखि विदेशी क्लबलाई पनि भित्राउने आयोजकले जनाएको छ ।
यसपल्ट अन्तिम समयमा तयारी गरेकाले विदेशी क्लब आउन नसकेको उनको भनाइ छ । आयोजकले पहिलोपल्ट रग्बीमा ठुलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकाश परिषद् बागमती, चितवन मेडिकल कलेज, होलिडे ट्रिप नेपाल प्रालीलगायतको सहयोग रहनेछ । गोर्खाली क्लबबाट हालसम्म सेभेन्स र फिफ्टिन ‘ए’ साइडमा गरी कुल १२ जना खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएको आयोजकले जनाएको छ ।
गोर्खाली क्लबले कर्णाली प्रदेशका विभिन्न स्थानमा स्वयम् सेवक प्रशिक्षक पठाएर त्यहाँ विभिन्न उमेर समूहका खेलाडी उत्पादन गरेको उल्लेख गरेको छ । त्यसका लागि कर्णाली प्रदेशसँग दुई वर्षको सहकार्यका लागि सम्झौता पनि गरिसकेको छ ।

कुम्भमेलाबाट फर्किएका ४ नेपालीको दुर्घटनामा मृत्यु, ६ जना घाइते

चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

शनिबार रिहा गर्ने भनिएका ६ जना मध्ये २ इजरायली बन्धक रिहा

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

अमेरिकाको एफबीआई निर्देशकमा काश पटेल निर्वाचित

प्रतिशोधात्मक कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

प्रतिक्रिया