सांसदहरू भन्छन्– कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भयो

काठमाडौं । नेपालको कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भएको सांसदहरूले बताएका छन् । शुक्रवारको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बौल्दै सांसदहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । 

उनीहरूले प्रशासनमा अराजकता रहेको र त्यसमा राजनीतिक कर्मी र मन्त्री बन्नेहरू पनि जिम्मेवार रहेको बताए । बैठकमा बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले नेपालको प्रशासनमा अहिले गुटबन्दीको स्थिति सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे । उनले यसमा राजनीतिक कर्मीहरू र मन्त्री बन्नेहरू पनि जिम्मेवार रहेको बताए । उनले अबको निजामती सेवा प्रशासन कता लैजाने भन्ने कुरालाई ध्यानमा राखेर ऐनका दफाहरूमा छलफल गर्न जरुरी रहेको बताए । 

बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद दिलेन्दप्रसाद बडूले अधिकृत तहको निमित्त र अधिकृत तहमा कार्यरतलाई मात्रै नवौँ र ११ औँ तहमा जानका लागि १०-१० प्रतिशतको बाटो छोडिएको भन्दै त्यसमा सबैलाई खुला गर्न आग्रह गरे । उनले यसमा निजामती सेवाकै राजपत्राङ्कितलाई किन नदिने ? भन्दै प्रश्न गरे । आवश्यक योग्यता पुगेको र आवश्यक अनुभव भएकोलाई खुला गर्दा राम्रो हुने उनको सुझाव छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले खुला प्रतियोगितामा केही प्रतिशत भए पनि विश्वविद्यालयबाट निस्किने उत्कृष्ट विद्यार्थीलाई दिनुपर्ने माग गरिन् । उनी भन्छिन्, “खुला प्रतियोगितामा केही प्रतिशत भए पनि त्यसैमा अटाउने गरेर अलिकति बढाएर त्यसैमा अटाउने गरेर यो ट्यालेन्ट हन्ट हाम्रो विश्वविद्यालयबाट निस्किने उत्कृष्ट विद्यार्थीलाई थोरै ठाउँ दिनुपर्छ ।”

बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारी प्रशासनलाई कसरी व्यवस्थित बनाउने ? भन्ने कुरामा बढ जोड दिनुपर्ने बताए । कर्मचारी प्रशासन देशको उन्नतिको लागि कसरी उत्साहित गर्ने भन्नेमा सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । 

बैठकमा सांसदहरूले योग्य व्यक्तिलाई प्रतिस्पर्धामा जाने ढोका बन्द गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया