‘बेरुजुकै कारण गाउँ–गाउँसम्म अनियमितता र भ्रष्टाचार भयो’

काठमाडौं । बेरुजु हटाउन सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सांसदहरूले बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र संसद्को भूमिका कार्यक्रममा सांसदहरूले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले प्रतिवेदनको आधारमा पारदर्शिता र जबाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य पार्न सांसदहरूले भूमिका खेल्नुपर्ने बताइन् । उनले प्रतिवेदनको छलफल लेखा समितिमा मात्रै नभई संसद्मा गर्नुपर्ने सुझाव दिइन् । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद रामप्रकाश चौधरीले बेरुजु भन्ने बित्तिकै नराम्रो सोच्ने गरे पनि त्यस्तो नरहेको बताए । उनले तीन किसिमबाट बेरुजु हुने भन्दै कागजात नमिलेर पनि बेरुजु हुनसक्ने जिकिर गरे । संवैधानिक निकाय, मन्त्रालय, संघ, प्रदेशलगायत सबैको महालेखापरीक्षकको प्रतिवेदन राम्रै आएको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले हालसम्म बेरुजु असुली गर्न कति बाँकी छन् र कहिलेसम्म असुली गर्नुपर्ने हो ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘बेरुजु असुली गर्ने कुरा छ, हुन त प्रतिवेदनमा हुनसक्छ, यो कति समय भित्रमा असुली गर्नुपर्ने हो ? नगरेपछि के व्यवस्था छ ऐन कानुन र नियमावलीमा पनि होलान् । कतिसम्म बाँकी छन् यस्ता पुराना असुली गर्नुपर्ने कुराहरू ? भन्ने जिज्ञासा राख्न चाहन्छु ।’

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले कामको जिम्मा लिएर काम शुरु गर्ने तर निर्माणका काम अलपत्र पारेर ठेकेदारहरू भाग्ने गरेकाले समस्या देखिएको बताइन् । उनले तलसम्म पुगेको भ्रष्टाचार सुधार्न मेहनत गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय सभा सदस्यहरूले महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले गाउँ—गाउँसम्म अनियमितता र भ्रष्टाचार हुने गरेको प्रति सबै निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया