यमप्रसाद अधिकारीलाई सेनापति बनाउने योजना छैन: रक्षामन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारेका हुन । उपप्रधानमन्त्री खड्काले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताए । 
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए  । उनले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताए । यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी समेत उनको छ । उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्नेपनि स्पष्ट पारे । 

प्रतिक्रिया