कार दुर्घटना भएको धोबी खोलामा डोरीको सहयोगमा अस्थायी समाधान

काठमाडौं । सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोलास्थित पुलछेउमा अस्थायी समाधान गरिएको छ ।

गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीबार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो ।

सिंहदरबार प्रहरी वृत्तका  प्रहरी वरिष्ठ उपरीक्षक गङ्गाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताए ।

उनले स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको बताए । स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने उनको भनाइ छ । 

गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो । मानवीय क्षति नभए पनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रूपमा लिइएको छ ।

भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरूले आग्रह गरेका छन् । 

प्रतिक्रिया