दसैँको मुखमा बजारमा चिनीको अभाव

दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा समेत चिनी छैन । उद्घाटनको दिनमा साल्ट टे«डिङ कर्पोरेसनसँग चिनी प्रतिकेजीको ९७ रुपियाँमा किनेर ९७ रुपियाँमा प्रतिव्यक्ति दुुई केजीका दरले बिक्री गरेको खाद्य कम्पनीले सहुलियत पसल सुरु गरेको चौथो दिनदेखि भने सकियो भन्दै बिक्री गर्न छोडेको छ । यता साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछन् तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्ने अवस्था छ । साल्ट ट्रडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले चिनी, तेल, नुन, चामल, दाल, चिउरालगायतका छुटमा बिक्री गरे पनि धेरै जसो उपभोक्ता चिनीकै लागि भिड लाग्ने गरेका छन् । खाद्य कम्पनीले साल्ट टे«डिङसँग दुई पटक गरेर खरिद गरेको ३५ क्विन्टल चिनी तीन दिनमै सकिएको जनाएको छ । सरकारले दसैँतिहार र छठमा उपभोक्तालाई चिनी अभाव हुन नदिन २० हजार मेट्रिक टन आपूर्ति गर्ने प्रयास थालेको छ । नेपाल चिनी उत्पादक संघले स्वदेशी चिनी उद्योगसँग बजार पठाउनका लागि मौज्दात चिनी नरहेको जनाएको छ । 
 

प्रतिक्रिया