प्रधानन्यायाधीश राउतको घोषणाःअसार मसान्तसम्म ८ वर्ष नाघेका मुद्दा शुन्यमा झार्छौँ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन् । 

बिहीवार सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताए । राउतले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शुन्यमा झार्ने बताए । प्रधानन्यायाधीश राउतले पाँच वर्ष नाघेका मुद्दाहरु समेत २०८३ सालसम्म शुन्यमा झार्ने लक्ष्य राखिएको बताए ।

प्रधानन्यायाधीश राउतल अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गरे ।राउतले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानून व्यवसायीहरुलाई आग्रह गरेका छन् । राउतले आदेशप्रति आग्रह पूर्वाग्रह नराखि टिप्पणी गर्न अनुरोध समेत गरेका छन् । 

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुसँग भएको ज्ञान र क्षमता कानून निर्माणको क्षेत्रमा संप्रेषण हुन नसकेको बताए । उनले कानून बनाउँदा कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको उल्लेख गरे । 

कानून लागू नगर्दै संसद र कानून व्यवसायीबीच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया