काठमाडौंमा बाँसको भाटा प्रहार गरी एक जनाको हत्या, २ नाबालक पक्राउ

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक जना मृत भेटिएका छन् । प्रहरीले गरेको अनुसन्धानका क्रममा मृत भेटिएका व्यक्तिको हत्या भएको बताइएको छ ।

बिहीबार बिहान शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेजको आधारमा शंकास्पद २ जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेका दुवै जनाले हत्या आफूले गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले बाँसको भाटाले टाउकामा हानेर हत्या गरेको बयान दिएका छन् ।

पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन । पक्राउ परेकाहरुको भनाइ अनुसार घटना बुधबार रातिको हो । मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले विना कारण थप्पड हानेपछि आफूहरुले पनि बाँसको भाटाले हानेको आरोपितको बयान छ ।

उनीहरु दुवै जनालार्ई हनुमानढोकास्थित एक घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दाको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया