प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

नारायणगढ । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा  ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो । 

तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो ।
 
सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी  दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेललगायतको सहभागिता थियो । 

उनीहरूलाई आश्रमका बालिकाहरूले स्वस्ती वाचन गरी स्वागत गरेका थिए । प्रतिष्ठानले थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्व सापकोटाका छोरा विश्वले जानकारी दिए । 

शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत क्षेत्रमा विशेष गरी प्रतिष्ठानले सहयोगकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए । पिताले समाजका पुराएका योगदानलाई जीवन्त राख्नका लागि प्रतिष्ठानले सहयोगकारी भूमिका खेल्दै आएको उनले उल्लेख गरे ।
 
कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत दराईले स्व सापकोटाले समाजका लागि दिनुभएको योगदानको चर्चा गर्दै उहाँ समाजमा सकारात्मक रुपान्तरणका शिखर व्यक्तित्वका रूपमा रहेको स्मरण गरे ।
 
सादगी र सरल स्वभावका स्व सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो ।  आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारमा एक अभियन्ताका रूपमा परिचित स्व सापकोटाले सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गरेको थियो । रासस

प्रतिक्रिया