यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन शुरु

काठमाडौं । वागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख शुरु गरेको छ । 

भौतिक रुपमा रहेका फाइलहरुको विद्युतीय अभिलेख शुरु गरिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताए ।

उनले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । भट्टराइले २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम शुरु भएको बताए ।

कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताए ।  विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

कार्यालय प्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताए ।  
 

प्रतिक्रिया