बडादसैँ सुरु भएसँगै नयाँबसपार्कमा घर जाने यात्रुको भीड

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जाने यात्रुको घुइँचो लागेको हो । नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका अनुसार हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेका छन । दसैँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेका छन । सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान यातायात व्यवसायीको छ । यात्रुलाई सहज रूपमा गन्तव्यस्थल जानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले केही बससमेत थप गरेको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुनेछ । यो बर्ष १६ लाख मानिस दशै मनाउन काठमाडौंवाट बाहिरिने अनुमान छ । 
 

प्रतिक्रिया