गाजामा गम्भीर घाइतेको उपचारमा समस्या भइरहेको डब्ल्यूएचओको भनाइ, चिकित्सा आपूर्ति र मानवीय कोरिडोर स्थापना गर्न आह्वान

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव भएको जनाएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो । इजरायलले गाजा भूमि छाड्न भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि डब्लुएचओले त्यहाँको स्वास्थ्य स्थीतिका बारेमा जानकारी दिएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओलाई गाजाको उत्तरमा रहेका दुई अस्पतालहरूले छाड्ने हो भने गम्भीर घाइते भएका बिरामीहरूलाई सारेमा उनीहरुको जीवन तत्काल जोखिममा पर्ने जनाएको छ । अस्पतालमा रहेका सयौं बिरामी, स्वास्थ्यकर्मी र अन्य नागरिकहरूले अस्पताल छाडेर जाने स्थीति नभएको पनि डब्ल्यूएचओले जनाएको छ । इजरायलले दिएको समय सीमामा बिभिन्न कारणले गाजाका अस्पतालहरूका बिरामीहरूलाई सार्न कठिनाई रहेको छ । डब्ल्यूएचओले इजरायललाई गाजाको नाकाबन्दी हटाउन र घेरामा परेको प्यालेस्टिनीहरुको जीवन बचाउनका लागि चिकित्सा आपूर्तिको लागि तुरुन्तै मानवीय कोरिडोर स्थापना गर्न आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया