कांग्रेसबाट विद्रोह गरेका कार्की बने कोशीको नयाँ मुख्यमन्त्री, मध्यावधी रोक्न सबैले सहयोग गरेको भनाइ
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा बहुमत अर्थात ४७ जना सांसदले हस्ताक्षर गरेका हुन् । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकांक्षीको पक्षमा ४७÷४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधार ५ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले कांग्रेसबाट विद्रोह गरी एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसद समेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी नभएको हो ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् । उनले यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकाले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको बताए । कुनै पार्टीको समर्थनमा नभई संविधानको धार १६८ को उपधारा ५ को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री बनेको उनको भनाइ छ । उनले आफू मुख्यमन्त्री भएको विषयलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास समेत व्यक्त गरे । उनले अब आफूले संविधान र ऐनले दिए अनुसार मुख्यमन्त्रीको कामकारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया