मुख्यमन्त्री नियुक्त गर्न कोशीका प्रदेश प्रमुख कानुनी परामर्शमा
कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कानूनी परामर्श सुरु गरेका छन् । संविधानको धारा १६८ को उपधारा पाँच अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न उनले दिएको समय सीमा आज साँझ ५ बजेबाट सकिँदैछ । तर, हिजै मुख्यमन्त्रीमा दाबी पेश भइसकेको छ । कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दुई जनाले दाबी गरेपछि परामर्शका लागि समय लाग्ने भन्दै उनले आज मात्र मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय गर्ने बताएका छन । सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् । तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् । कार्कीले आफूसहित कांग्रेसका ९ प्रदेशसभा सदस्य र एमालेका ३९ सहित कुल ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् । कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ । यसैबीच मुख्यमन्त्री दाबीमा गठबन्धनको निर्णयविरुद्ध गएका सांसदहरूबारे निर्णय लिन कांग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । बैठकमा शेखर पक्षले गरेको ‘विद्रोह’ बारे छलफल हुने बताइएको छ ।।
प्रतिक्रिया