केदार कार्की सहित ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको आग्रह
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीबाट विद्रोह गरी मुख्यमन्त्रीमा दाबी पेस गरेका नेता केदार कार्की र उनको समर्थनमा उत्रेका अन्य सात जना सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । आज बसेको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई समर्थन गर्ने निर्णय गर्दै विद्रोह गरेका कार्कीसहितका सांसदलाई प्रदेश प्रमुखसमक्ष पेस गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो । बैठकले पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गर्ने र केन्द्रले थप केही निर्देशन दिए त्यसबारे निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ । यसैविच कोशी प्रदेशमा नेपाली कांग्रेसका ८ सांसदले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङलाई निवेदन दिएका छन् । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सत्ता गठबन्धनको तर्फबाट कोशीको मुख्यमन्त्रीमा दाबी गर्दा आफूहरूको हस्ताक्षर दुरूपयोग गरेको उनीहरूले निवेदनमा उल्लेख गरेका छन । निवेदन दिनेमा कार्कीसहित शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरूङ छन । आठ जना सांसदहरूले कोशीको मुख्यमन्त्री आङ्बोलाई बनाउने पार्टी केन्द्रको निर्णयलाई चुनौती दिएका छन् । उनीहरूमध्ये केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कार्कीलाई नेकपा एमाले का ३९ जना सांसदले समर्थन गरेका छन् । एमालेका ३९ र कांग्रेसका ८ सांसद गरी ४७ जनाको हस्ताक्षर कार्कीले प्रदेश प्रमुख खापुङलाई बुझाएका हुन । सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी गरेका आङ्बोले पनि आफ्नो दाबीमा कांग्रेसका ती ८ जना सांसदको हस्ताक्षर समावेश गरेका छन ।।
प्रतिक्रिया