गाजापट्टीमा बस्ने ११ लाख मानिसलाई २४ घण्टा भित्र सो क्षेत्र छोड्न इजरायलको निर्देशन

इजरायलले गाजापट्टीको उत्तरी क्षेत्रमा बसोबास गर्दै आइरहेका ११ लाख मानिसलाई सो स्थान छाडेर जान निर्देशन दिएको छ । उत्तरी गाजाको बादी क्षेत्रमा बस्दै आएका सबैलाई २४ घण्टा भित्र सो क्षेत्र छाडेर पूर्वी गाजामा स्थानान्तरण हुन इजरायलले निर्देशन दिएको हो । हमासले शनिबार अप्रत्याशित आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजामा निरन्तर आक्रमण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले भने इजरायलको सूचना तत्कालको अवस्थामा कार्यान्वयन हुन नसक्ने जनाएको छ । इजरायलको निर्णयका कारण ठूलो मानवीय विपत्ती हुन सक्ने भन्दै राष्ट्रसंघले इजरायललाई निर्णय सच्याउन भनेको छ । गाजामा नाकाबन्दी गरेर पानीदेखि खाद्यान्न र बिजुलीसम्म रोकेको इजरायलले गाजामा ठूलो आक्रमणको तयारी गरिरहेको छ । इजरायलले ६ दिनमा ६ हजार बढी बम प्रहार गरिसकेको छ । इजरायलले थप आक्रामक आक्रमण गर्नका लागि वादी क्षेत्र खाली गर्न उर्दी जारी गरेको हो । इजरायल र हमास युद्धबारे आज सुरक्षा परिषदमा समेत छलफल हुँदैछ । राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड इरदानले राष्ट्रसंघको प्रतिक्रियालाई ‘लाजमर्दो’ भन्दै हमासविरुद्धको संघर्षमा साथ दिनुपर्ने बताएका छन् । शनिबारदेखि जारी युद्धमा दुवै तर्फ गरेर करिब ३ हजार मानिसको मृत्यु भइसकेको छ भने १० हजार बढी घाइते भएका छन । 
 

प्रतिक्रिया