इजरायलमा अलपत्र २५० विद्यार्थी लिएर निगमको विमान राति काठमार्डौं आइपुग्ने
आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपाली आज बेलुका काठमार्डौं आइपुग्ने भएका छन् । नेपाल बायुसेवा निगमको विमान आज राति ९ बजे २ सय ५० विद्यार्थीहरुलाई लिएर त्रिभुवन विमानस्थल आइपुग्ने भएको हो । परराष्ट्रमन्त्री एनपी साउद पनि कूटनीतिक समन्वयका लागि विमानमा सँगै गएका छन् । नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल पुगेको हो । सिनियर क्याप्टेन श्रवण रिजालको नेतृत्वमा जहाज तेल अभिवबाट उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने निर्णय गरेको छ । इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि तीन सयभन्दा बढी नेपाली अलपत्र परेका छन् । चार्टर्ड उडानबाट इजरालयमा ज्यान गुमाएकाहरुको शव भने नल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुको शव इजरायल सरकारले हस्तान्तरण गर्न बाँकी रहेकाले आज ल्याउन सम्भव नभएको हो । हमास र इजरायली सेनाबीचको लडाइँमा १० नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन ।
प्रतिक्रिया