एसीसी यू–१९ प्रिमियर कप: नेपालद्धारा इरान २७४ रनले पराजित
मलेसियामा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कपमा नेपालले इरानलाई २ सय ७४ रनले हराएको छ । नेपालका कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले शानदार जित हासिल गरेको हो । खेलमा जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलब ५ ओभरमा ७९ रनमा अल आउट भएको हो । इरानका आमेर खोर्सन्दले ३७ र साबेर इब्राहिमपुर ११ रनमा नटआउट रहे । इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेल र सुवास भण्डारीले तीन÷तीन तथा हेमन्त धामी र आकाश चन्दले दुई÷दुई विकेट लिए । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै दिपक बोहोरले ६५, दीपक प्रसाद डुम्रेले ६९, दीपक कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान तीन÷तीन विकेट लिए । यस्तै जेइद राएसी र समान शेखीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एशिया कप खेल्न पाउनेछन् ।
प्रतिक्रिया