माओवादीका आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमति नजिक पुगेका छन् । नेपाली कांग्रेसले अन्तिम अवस्थामा दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसकेपछि गत २० गते पदबाट राजीनामा दिएका थिए । त्यसको केही घण्टामै प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते संविधानको धारा १६८ को उपधारा पाँच बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका थिए । कांग्रेसमा दुई पटक विश्वासको मत नपाएका संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिएका हुन् । यसबारे औपचारिक निर्णय गठबन्धनको बैठक बसेर गर्ने तयारी छ । 

प्रतिक्रिया