चिनी निर्यातमा प्रतिबन्ध लगाउने भारतको तयारी

भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस वर्ष मनसुनी वर्षा कमजोर भएर उखु उत्पादनमा कमी आएपछि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । भारतले अक्टोबर १ बाट सुरु भएको नयाँ सिजनमा चिनीको निर्यातमा रोक लगाउने सम्भावना रहेको र यस विषयमा छिट्टै निर्णय हुने ब्लुमबर्गले जनाएको छ । यद्दपी, स्वदेशी आपूर्तिमा सुधार आएमा विदेशमा बिक्रीका लागि केही निर्यात कोटा जारी गर्न सक्ने बताइएको छ । भारतले निर्यात प्रतिबन्ध लगाएमा चिनीको विश्वव्यापी आपूर्तिमै ठूलो संकुचन आउने छ । भारत उखुको दोस्रो ठूलो उत्पादक राष्ट्र हो । ढिलो सुरु भएको वर्षाले उत्पादन घटाएपछि भारतले चिनीको निर्यात गत बर्ष करिब ६० लाख टनमा सीमित गरेको थियो । अघिल्लो वर्ष भने भारतले १ करोड १० लाख टनसम्म चिनी निर्यात गरेको थियो । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । सोमध्ये १ लाख ६० हजार मेट्रिक टन चिनी भारतबाट आयात हुने गरेको छ ।

प्रतिक्रिया