सन्दीप लामिछानेविरूद्धको मुद्वाको सुनुवाइ फेरी स्थगित
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्वाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको सुनुवाइ न्यायाधीश अभावको कारण देखाउँदै स्थगित भएको हो । यसअघिपनि असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै मुद्दाको सुनुवाइ स्थगित भएको थियो । यसअघि गत असोज एक मा सन्दीपको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो । असोज ७ का लागि तय भएको सन्दीपको मुद्दा फेरीपनि पेसीमै नचढी अदालतले नै स्थगित गरेको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमानै चाँडो फैसला गर्न आदेश दिएको थियो । लगातार मुद्दा स्थगित भएकोमा सार्वजनिक आलोचना समेत हुँदै आएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पुनरावेदनले भने उनलाई पुस १८ गते उच्चले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।
प्रतिक्रिया