इजरायल हमास युद्धमा सग्लन नहुन अमेरिकाको इरानलाई चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धमा संलग्न नहुन इरानलाई कडा चेतावनी दिएका छन् । यहुदी समुदायका नेताहरुसँग हृवाइट हाउसमा भएको गोलमेच बैठकमा बोल्दै बाइडेनले इरानलाई सावधान हुन चेतावनी दिएका हुन् । प्यालेस्टिनी विद्रोही समूह हमासले  इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणमा इरानको सहयोग रहेको आंशकाकाबीच बाइडेनले यस्तो चेतावनी दिएका छन् । इरानले त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेपनि हमासको प्रशंषा गरेको छ । इरान हमासको समर्थनमा आउने र यसले क्षेत्रीय द्वन्द्वको रुप लिन सक्ने अन्तर्राष्ट्रिय चिन्ताबीच बाइडेनको भनाइ सार्वजनिक भएको हो । अमेरिकाले इजरायलको सहयोगार्थ सैन्य उपकरण पठाउनुकासाथै इजरायल नजिकैको पूर्वी भूमध्य सागरमा युद्धपोत पठाइसकेको छ । यसैबीच इजरायलप्रति समर्थन जनाउन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन त्यसतर्फ प्रस्थान गरिसकेका छन् । यसैबीच इरानका राष्ट्रपति इब्राहिम रइसी र साउदी अरबका राजकुमार मोहम्मद विन सलमानबीच इजरायल गाजा द्वन्द्वका विषयमा टेलिफोन वार्तालाप भएको छ । दुवै नेताबीच प्यालेस्टाइनविरुद्धको युद्ध अपराध रोक्ने विषयमा छलफल भएको इरानी संचारमाध्यमले जनाएका छन् । पारस्परिक वैमनस्यता राख्दै आएका यी दुई क्षेत्रीय शक्ति राष्ट्रका नेताबीच सात वर्षको शत्रुतापछि पहिलो पटक टेलिफोन वार्ता भएको हो । 
 

प्रतिक्रिया