नेपालीको उद्दारका लागि निगमको जहाज राति इजरायल जाने
इजरायलमा रहेका नेपालीको उद्धारका लागि आनज राति नेपाल बायुसेवा निगमको जहाज पठाइने भएको छ । गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन । त्यसैका लागि परराष्ट्र मन्त्रालयले उनीहरूको उद्धारका लागि आज राति ११ बजे निगमको जहाज पठाइने जनाएको हो । जहाज दुबई ट्रान्जिट हुँदै जहाज इजरायल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको थियो । करिव तीन सय जनाले नेपाल फर्कन चाहेको जानकारी गराएका छन । शनिबार इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । चार जना घाइतेको अस्पतालमा उपचार भैरहेको छ । अझै कञ्चनपुरका विपीन जोशी सम्पर्कविहीन छन । मृतकको शव पनि निगमकै जहाजमा ल्याउने तयारी छ ।
प्रतिक्रिया